अष्ट्रेलियाको एसेसमेन्ट लेभलमा नेपाल २ मा, केही विश्वविद्यालय भने ३ मा झरे

Home     News and Events
Posted Date: 2017-04-01

काठमाडौं/उच्च शिक्षाका लागि अष्ट्रेलिया रोज्ने नेपाली विद्यार्थीहरुका लागि खुसीको खबर छ । अष्ट्रेलियाले नेपाललाई एसेसमेन्ट तहमा २ मा यथावत राखेको छ ।
नेपाल र नेपाली विद्यार्थीहरु अध्ययन गर्न जाने धेरै विश्वविद्यालयको एसेसमेन्ट तह २ मा रहँदा नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया अध्ययनका लागि जान सहज हुने भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा महासचिव सन्तोष प्याकुरेलले बताए ।
“एसेसमेन्ट लेभल २ मै रहनुको अर्थ नेपाल र नेपाली विद्यार्थीहरुलाई हेर्ने दृष्टिकोण राम्रो छ भन्ने हो” उनले भने, “अब नेपाली विद्यार्थीलाई अष्ट्रेलियाका लेभल १ र २ मा रहेका विश्वविद्यालयमा अप्लाइ गर्दा आयस्रोत देखाउनु पर्दैन् ।” यसले अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहज बनाएको छ ।

अष्ट्रेलियाले त्यहाँको अध्यागम तथा सीमा सुरक्षा विभागले शुक्रबार जारी गरेको नयाँ नतिजा अनुसार नेपाल एसेसमेन्ट लेभल २ मै रहेको देखिएको हो । गत एक वर्षको गतिविधीका आधारमा विभागले उक्त नतिजा निकालेको हो ।

महासचिव प्याकुरेलका अनुसार एसेसमेन्ट लेभल राम्रो हुनुमा गत एक वर्षको अवधीमा नेपालबाट जेन्युन विद्यार्थी अष्ट्रेलिया गएको, राम्रो प्रदर्शन गरेको तथा कलेज परिवर्तन न्यून भएकाले नेपाललाई हेर्ने दृष्टिकोण राम्रो बनेको हो । “अष्ट्रेलिया अप्लाइ गर्दा अष्ट्रेलियन हाइकमिसनलाई बुझाउने कागजपत्रमा आयस्रोत देखाउनु पर्दैन” प्याकुरेलले भने, “विश्वविद्यालय वा कलेजहरुले भने माग गरेको खण्डमा सम्पूर्ण कागजपत्र देखाउनुपर्छ ।” नेपाललाई एसेसमेन्ट लेभल २ मै राखिराख्नका लागि शैक्षिक परामर्श व्यवसायीहरुले जेन्युन विद्यार्थीलाई मात्रै प्रोत्साहन गर्ने र सही ढंगले मात्रै काम गर्नुपर्नेमा प्याकुरेलले जोड दिए ।
गत वर्षमा केही कलेजहरुबाट नेपाली विद्यार्थीहरुको भिसा अस्वीकृत बढेसँगै अष्ट्रेलियन हाइ कमिसनले नेपाललाई एसेसमेन्ट लेभल ३ मा राख्ने सम्भावना बढेको थियो । त्यहाँको विभागले चीनलाई १ मा, भारत, भियतनाम र बंगलादेशलाई एसेसमेन्ट लेभल ३ मा राखेको छ भने श्रीलंकालाई १ बाट २ मा झारेको छ ।
नेपाल एसेसमेन्ट लेभल २ मा रहे पनि अष्ट्रेलियाका केही कलेज भने ३ मा झरेका छन् । अष्ट्रेलियामा सञ्चालित ‘हाम्रो कलेज’, ‘फेडेरेसन युनिभर्सिटी’ तथा ‘किङग्स वोन इन्स्टिच्युट’ भने एसेसमेन्ट लेभल ३ मा छन् । एसेसमेन्ट लेभल ३ मा रहेका कलेजमा अप्लाइ गर्दा ६० हजार अष्ट्रेलियन डलर आयस्रोत देखाउनु पर्छ भने डिपेन्डेन्टमा जान चाहनेका लागि ७० हजार अष्ट्रेलियन डलर आयस्रोत देखाउनु पर्छ ।
अष्ट्रेलियाको विश्वविद्यालय वा कलेज अनुसार आवश्यक पर्ने कागजपत्रमा पनि फरक पर्छ । विद्यार्थीले आफूले अध्ययन गर्न जान चाहेको विश्वविद्यालय वा कलेजबारे अध्यागम तथा सीमा सुरक्षा विभागको वेवसाइटमा गएर आफै पनि हेर्न सक्छन् । (जसका लागि यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।)
वेवसाइटको लिंक खुलिसकेपछि देशमा नेपाल टाइप गर्ने र त्यसको ठीक तलपट्टी आफूले रोजेको विश्वविद्यालय वा कलेज टाइप डिस्प्ले इभिडेन्समा क्लिक गरेर हेर्न सकिन्छ । यसरी हेर्दा नेपालबाट अप्लाइ गर्ने विद्यार्थीले उक्त कलेज वा विश्वविद्यालयका लागि आयस्रोत देखाउनु पर्ने वा नपर्ने उल्लेख गरेको हुन्छ । र अन्य के के आवश्यक पर्छ त्यहाँ हेर्न सकिन्छ ।

Source: http://www.educationnewsnepal.com/?p=5986